माओवादी नेतृत्वबिनाको सरकारले संविधान बनाउँदैन- सुदर्शन
सल्यान, २० असोज । एकीकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य हेमन्त प्रकाश वली (सुदर्शन)ले माओवादी नेतृत्वबिनाको सरकारले नेपाली जनताको नयाँ संविधान बनाउन नसक्ने दावी गर्नु भएको छ । सल्यान सदरमुकाम खलङ्गामा आज बिहान पत्रकारसँग कुरा गर्दै उहाँले जनताको संविधान निर्माणमा षडयन्त्र हुँदै गए नेपाली जनताले अर्को जनआन्दोलनबाट नयाँ संविधान प्राप्त गर्ने उल्लेख गर्नुभयो ।
मगरात राज्य समितिका इन्चार्ज समेत रहनुभएका सुदर्शनले अहिले संविधान निमार्णको मुख्य बाधक दलाल र नोकरशाही पुाजीवादीहरु नै भएको स्पस्ट पार्नुभयो । बर्तमान गोल चक्करबाट देशलाई मुक्त गर्न र अर्को नयाँ प्रकृयामा जानको लागि एमालेसँग सहमति गरिएको जनाउँदै उहाँले नेपाली काङ्ग्रेस निर्लज्ज ढङ्गले विदेशीको इसारामा प्रधानमन्त्रीको नाटक मन्चन गरिरहेको आरोप लगाउनुभयो । आफ्नो पार्टी संविधानसभा नियमावली परिवर्तन गरेर भए पनि प्रधानमन्त्री चयनको विकल्प दिन तयार रहे पनि देशमा राष्ट्रपतीय शाषण लगाएर २०४७ सालकै संविधान व्यूताउने षडयन्त्र भइरहेको उहाँले बताउनु भयो ।