गोरखा(पालुङ्गटार), ६ मङ्सिर । जारी छैटौं विस्तारित बैठकको दोश्रो दिन आज बन्दसत्रमा उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफुद्वारा प्रस्तुत दस्तावेजका बारेमा मन्तव्य राख्नुभएको श्रोतले जानकारी दिएको छ । भट्टराईले वैचारिक राजनीतिक रुपमा स्पष्टता र संगठनात्मक रुपमा रुपान्तरण सहितको एकतामा जोड दिनुभएको छ ।
वहाँले संविधानसभाबाट जनताको संघीय गणतन्त्रको सारतत्व समेटिएको संविधान निर्माण गर्नुपर्ने बताउनुभएको छ । प्रधान अन्तरविरोध लगायतका केही सवालहरुलाई विस्तािरत बैठकबाट सम्भव नभए महाधिवेशन मार्फत् टुङ्गो लगाउनुपर्ने तर तत्कालका कार्ययोजनाका सवालमा भने एक भएर जानुको विकल्प नभएकोमा जोड दिएको बैठकमा सहभागी एक प्रतिनिधिले जानकारी दिएका छन् ।
राष्ट्रियता स्वाधीनता शान्ति संविधान र जनजीविकाका सवाललाई सम्बोधन गर्न विचार राजनीतिमा स्पष्टता र संगठनलाई चुस्त बनाउनुपर्नेमा भट्टराईको मत छ । राष्ट्रियता र जनजीविकाको सवालमध्ये तत्काल जनजीविकालाई प्राथमिकता दिनुपर्ने भट्टराईले उल्लेख गरेको एक प्रतिनिधिले बताएका छन् ।
आफ्नो मन्तब्यको अन्तमा भट्टराईले यसअघि पालुङ्गटारको गोरुले सल्यानटारको विउ खायो कान्छी ल्याउँदा जेठी जिल खायो भन्ने गीतलाई विस्तारित बैठकपछि पालुङ्गटारको विचारले बालुवाटारको निद खायो माओवादी एक हुँदा संसारले जिल खायो भनेर सिर्जना गर्नुपर्ने बताउनुभएको एक राज्य सदस्यले जानकारी दिनुभयो ।
अहिले खाना खानका लागि बैठक साढे १ बजेसम्मका लागि स्थगित भएको छ । यसपछि शुरु हुने बैठकमा मोहन बैद्यले आफ्ना दस्तावेजका बारेमा मन्तव्य राख्ने बताइएको छ । नेताहरुलाई हार्ड लाइनर र सफ्ट लाइनर भनेर कित्ताबन्दी गरिएकोप्रति माओवादी नेता नेत्रविक्रम चन्दविप्लवले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
भट्टराईको विचार सुनेर बाहिरएपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेता विप्लवले सबै नेताहरु क्रान्तिप्रति नै चिन्तित रहेको आफुले पाएको प्रतिकि्रया दिनुभयो । बैठकस्थल बाहिर कुरा गर्दै माओवादी सैन्य इाचार्ज बर्षामान पुनले लडाकु सहभागिताबारे विवाद गर्नुको औचित्य नरहेको बताउनुभएको छ । मन्त्रीहरुले विस्तारित बैठकमा सहभागी लडाकुलाई अस्थायी शिविरमा फिर्ता हुन नदिने बताएका छन् नि भन्ने संचारकर्मीको जिज्ञासामा ंनेता पुनले मन्त्रीहरु शिविरमा गएर ड्युटी गर्न नमिल्ने टिप्पणी गर्नुभयो ।
