Magar National Liberation Front Nepal, Belgium committee

षड्यन्त्र भए स्थायी गणराज्य : प्रचण्ड

किरात र सेर्पा स्वायत्त गणराज्यको घोषणा

सोलुखुम्बु, २९ मङ्सिर : एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\'ले प्राप्त उपलब्धिका विरुद्ध षड्यन्त्र जारी रहे अहिले प्रचारात्मक रूपमा घोषणा गरिएका गणराज्यहरूलाई स्थायी गणराज्य बनाइने चेतावनी दिनुभएको छ ।

माओवादीद्वारा जारी स्वायत्त गणराज्यको घोषणा कार्यक्रमअन्तर्गत सोमबार सोलुखुम्बुको सल्लेरीमा सेर्पा स्वायत्त गणराज्यको घोषणा गनुहुँदै अध्यक्ष प्रचण्डले स्थायी गणराज्य घोषणा गर्ने चेतावनी दिनुभएको हो । उहाँले स्वायत्त गणराज्य घोषणा राजनीतिक कार्यक्रममात्र भएको स्पष्ट पार्नुभयो ।

\'यो गणराज्य घोषणा अहिले राजनीतिक रूपमामात्र हो,\' अध्यक्ष प्रचण्डले सल्लेरीमा उपस्थित हजारौं जनसमुदायलाई सम्बोधन गर्नुहुँदै भन्नुभयो, \'यदि यसमा षड्यन्त्र भए स्थायी रूपमा नै गणराज्य बनाइने छ ।\' उहाँले माओवादीलाई सङ्घीय राज्यहरूमा सरकार घोषणा गर्नबाट कुनै शक्तिले रोक्न नसक्ने बताउनुभयो । 

माओवादीले नागरिक सर्वोच्चताको तेस्रो चरणको सङ्घर्षका कार्यक्रमअनुसार सोमबार सेर्पा स्वायत्त गणराज्य र किरात स्वायत्त गणराज्यको घोषणा गरेको छ । किरात स्वायत्त गणराज्यको खोटाङको दिक्तेलबाट माओवादी पोलिटुव्युरो सदस्य गोपाल किरातीले घोषणा गर्नुभयो । माओवादीले लिम्बुवान, कोचिला, थारुवान र सेती-महाकाली स्वायत्त गणराज्य घोषणा गरिसकेको छ । 

सेर्पा स्वायत्त प्रदेश सोलुखुम्बुलाई केन्द्रविन्दुमा राखेर त्यस वरपरका ६ वटा जिल्लाका माथिल्लो भूभागलाई समेटिने बताइए पनि सिमाङ्कन गरिएको छैन । किरात स्वायत्त गणराज्यमा पूर्वका पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, भोजपुर, सोलुखुम्बु, उदयपुर र संखुवासभालाई समेटिएका छन् । दिक्तेलमा प्रस्तावित प्रधान कार्यालयको समेत उद्घाटन गरिएको छ । 

अध्यक्ष प्रचण्डले गणराज्यको घोषणा १२ बाुदे सहमति र अन्तरिम संविधान अनुकूल भएको बताउनुभयो । गणराज्य घोषणाको विरोध गर्नु सङ्घीयताको विरोध गर्नुभएको उहाँको भनाइ छ । \'यो घोषणा १२ बुँदे सहमति र अन्तरिम संविधानको भावनाअनुकूल छ\' घोषणासभामा सेर्पा भेषभुषामा प्रस्तुत हुनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, \'त्यसैले यसको विरोध गर्नु सङ्घीयताकै विरोध गर्नु हो ।\'

उहाँले गणराज्य घोषणा संविधानसभा, गणतन्त्र र सङ्घीयताविरुद्ध भइरहेको षड्यन्त्रको खबरदारी भएको पनि बताउनुभयो । \'यो घोषणा सङ्घीयताविरुद्ध भएको षड्यन्त्रको चेत बोलेको हो,\' प्रचण्डले भन्नुभयो, \'सबै जाति, क्षेत्रका जनतालाई षड्यन्त्रप्रति सतर्क गराउन पनि हो ।\'

अध्यक्ष प्रचण्डले गणराज्य घोषणा गरेर गणतन्त्रको प्रचार गर्दा त्यसको विरोध गर्नु शान्तिप्रक्रिया भङ्ग गर्ने षड्यन्त्र भएको बताउनुभयो । \'जनतालाई सचेत पार्नकै लागि हामीले गणराज्य घोषणा गरेका छौं\', उहाँले भन्नुभयो, \'यदि कसैले षड्यन्त्र गर्न खोज्यो र जनताका उपलब्धिहरूलाई खोस्ने प्रयत्न गर्न खोज्यो भने यो घोषणाले त्यसकाविरुद्ध सिङ्गै देश जुरुक्क उठाउने छ ।\'

उहाँले माओवादी अन्य दलहरूभन्दा एक कदम अघि बढेर गरिब, महिला, जनजाति र क्षेत्रका पक्षमा लड्दै आएको स्पष्ट पार्नुहुँदै भन्नुभयो \'यो गणराज्य घोषणा पनि एमाले-काङ्ग्रेसभन्दा एक कदम अघि बढेर गरेका छौं ।\'

अध्यक्ष प्रचण्डले संविधानसभामा एमाले-काङ्ग्रेस पछिमात्र आएको स्पष्ट पार्नुहुँदै अन्त्यमा गणराज्य बनाउनेमा पनि आउने विश्वास व्यक्त गर्नुभयो । स्वायत्त गणराज्यमामात्र राष्ट्रियता बलियो हुने उहाँको भनाइ छ । \'सङ्घीयतामा जनता बलिया हुन्छन् र राष्ट्र पनि बलियो हुन्छ\' उहाँले भन्नुभयो, \'काठमाडौंमा बसेर नेतृत्व गरेर राष्ट्र बलियो हुँदैन ।\'

अब सेर्पा र किरातका आफ्नै राज्य

मध्यपूर्वको हिमाली भूभागलाई सेर्पा स्वायत्त गणराज्य र पहाडी भूभागलाई किरात स्वायत्त गणराज्य घोषणा गरिएको छ । माओवादीले संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालको तर्फबाट सोमबार सेर्पा र किरात स्वायत्त गणराज्यको घोषणा गरेको हो । 

सेर्पा स्वायत्त गणराज्य घोषणाका लागि सोमबार सोलुखुम्बुको सल्लेरी पुग्नुभएका अध्यक्ष प्रचण्डले हजारौं जनसमुदायको बीचमा तीनपटकसम्म \'सेर्पा स्वायत्त गणराज्य जिन्दावाद û\' भन्ने नारा लगाएर सेर्पा स्वायत्त गणराज्यको घोषणा गर्नुभयो । 

उक्त गणराज्यको संयोजकमा गोम्बु सेर्पा \'कज्र्याङ\'लाई तोकिएको छ । उहाँले अब उक्त राज्यलाई स्थापित गर्न अन्य राजनीतिक दलहरूसँग छलफल र परामर्श गर्नुहुने भएको छ । सेर्पा गणराज्य घोषणा स्थायी रूपमै कायम गर्न काङ्ग्रेसका केही केन्द्रीय नेता र सभासदहरूले काङ्ग्रेस निकट सेर्पा सङ्घमार्फत सन्देश पठाएका थिए ।

सेर्पा स्वायत्त प्रदेश सोलुखुम्बु जिल्लालाई केन्द्रमा राखेर त्यस वरिपरिका ६ वटा जिल्लाका केही भूभागलाई समेटिने जनाइएको छ । 

\'अब तपाईंहरूको आफ्नै स्वायत्त गणराज्य घोषणा भएको छ म तपाईंहरूलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु\' माओवादी अध्यक्ष प्रचण्डले सेर्पा स्वायत्त गणराज्य घोषणालाई सम्बोधन गर्नहुँदै भन्नुभयो, \'सगरमाथामा विजय हासिल गरेको कारण तपाईंहरूलाई विश्वले त्यही रूपमा बुझ्दछ, त्यसकारण म तपाईंहरूलाई माया र सम्मान गर्दछु ।\'

कार्यक्रमलाई शुभकामना दिनुहुँदै माओवादी पोलिटव्युरो सदस्य अग्नि सापकोटाले गणराज्य घोषणा कार्यक्रम गणराज्य निर्माण प्रक्रियाको आधारशीला भएको बताउनुभयो । कार्यक्रममा किरात राज्य समितिका सहइन्चार्ज पदम राई, सेर्पा लोकतान्त्रिक सङ्घका लाप्पादेङ सेर्पा, सभासद् देवी खड्का, सेर्पा मुक्ति मोर्चाका अध्यक्ष फुर्वाछिरी सेर्पालगायतले शुभकामना दिनुभएको थियो ।

दिक्तेलमा माओवादी पोलिटव्युरो सदस्य गोपाल किरातीले किरात स्वायत्त गणराज्य घोषणा गर्नुभएको छ । किरात गणराज्यको संयोजक पनि किराती नै रहनुभएको छ । दिक्तेलमा किरात गणराज्यको अस्थायी प्रधानकार्यालय पनि खोलिएको छ । कार्यालय सचिवमा खोटाङ जिल्ला इन्चार्ज ध्रुव बुढाथोकीलाई नियुक्त गरिएको छ ।

किरात स्वायत्त गणराज्यको बोर्डको उद्घाटन गर्नुहुँदै संयोजक तथा नेता किरातीले जातीय सद्भाव र समानताको पक्षमा लड्नेका लागि मात्रै किरात गणराज्य घोषणा भएको बताउनुभयो । \'माओवादीको गणराज्य घोषणाले अहिलेको सरकार डराएर असंवैधानिक भनि टिप्पणी गरिरहेको छ\', उहाँले भन्नुभो, \'नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधीनता र माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बनेमात्र जनताले खोजेजस्तै संविधान बन्नेछ ।\' 

नेता किरातीले जातीय मुद्दा लिएर विद्रोह गरिरहेको किरात जनवादी वर्कर्स पार्टी र खम्बुवान मोर्चा पनि किरात राज्यमा आउनुपर्ने बताउनुभयो । 

किरात स्वायत्त गणराज्यमा खोटाङ, ओखलढुङ्गा, भोजपुर, सोलुखुम्बु, उदयपुर र संखुवासभालाई समेटिएको छ । 

आज भेरी-कणर्ाली र भोटे-लामा प्रदेशको घोषणा हुँदै

निरन्तर स्वायत्त गणराज्यको घोषणामा रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपालले मङ्गलबार भेरी-कणर्ाली र भोटे-लामा स्वायत्त प्रदेशको घोषणा गर्दै छ । 

भेरी-कणर्ालीको जुम्ला सदरमुकाम खलङ्गाबाट र भोटे-लामाको हुम्ला सदरमुकाम सिमीकोटबाट घोषणा हुँदैछ । घोषणाका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् । भेरी-कणर्ालीको घोषणाका लागि माओवादी स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख कृष्णबहादुर महरा सोमबार नै खलङ्गा पुगिसक्नुभएको छ । 

भेरी र कणर्ाली स्वायत्त गणराज्यमा मुगु, जुम्ला, कालीकोट, जाजरकोट, दैलेख र सुर्खेत गरी ६ ओटा जिल्लालाई समेट्ने तयारी भएको जुम्लाबाट पत्रकार बबीन शर्माले जानकारी गराउनुभएको छ ।