Magar National Liberation Front Nepal, Belgium committee

संसदवादीहरु संविधान लेख्न चाहदैनन : विप्लव

September 12th 2009

काठमाडौ, भाद्र २७

एकिकृत नेकपा माओवादीका स्थायी समिति सदस्य नेत्र विक्रम चन्द ‘विप्लव’ ले संसदवादी दलका नेताहरुले मुलुकमा संविधान लेख्न नचाहेको वताउनु भएको छ । शनिवार नेपालगंजमा संयुक्त राष्ट्रिय जनआन्दालन नेपालद्धारा आयोजित जनसभालाई संवोधन गर्दै नेता विप्लवले संविधान लेखन प्रक्रियावाट संसदवादीहरु भागेको आरोप लगाउनु भयो । संयुक्त राष्ट्रिय जनआन्दालन नेपालका महासचिव समेत रहेका विप्ललले संविधानसभावाट जनताको संविधान - जनसंविधान ) लेख्न नदिए जनताले सडकवाटै भए पनि संविधान लेखि छाड्ने उदघोष गर्नु भयो ।

भारतीय विस्तारवादको डिजाईनमा वनेको कठपुतली सरकारले संविधान लेख्न नसक्ने दावी गर्दै नेता विप्लवले जननिर्वाचित शक्ति माओवादीहरुको नेतृत्वमा मात्र संविधान लेखिने ठोकुवा गर्नु भयो । चुनावमा पराजित प्रधानमन्त्री माधव नेपाललाई माओवादीले संविधान लेखनमा सहयोग होला भनेर संविधानसभामा ल्याएको चर्चा गर्दै नेता विप्लवले अव त्यस्तो कमजोरी नदोहर्‍याउने वताउनु भयो । माओवादी नेताहरुलाई जेल हाल्ने धम्कि कांग्रेसका नेताहरुले दिएको प्रसंग कोटयाउदै वहाँले जेल हाल्नै परे संविधान मिच्ने र शान्ति विथोल्नेहरुलाई हालिने वताउनु भयो ।

तत्कालीन सेनापति प्रक्ररणमा कांग्रेस, एमालेहरुले केही जनरलहरुलाई उक्साई भिडन्त निम्ताउन खोजेको माओवादी नेता चन्दको भनाई थियो । अहिले पनि प्रतिगामी, यथास्थितिवादीहरु माओवादीलाई युद्धमा धकेल्न खोजिरहेको वताउदै वहाले माओवादीलाई जनताको अपार समर्थन रहेकोले युद्ध जरुरत नभएको स्पष्ट पार्नु भयो । यस पछि माओवादी नेता विप्लव विरोधसभालाई संवोधन गर्न रोल्पा पुग्नु हुने छ । भाद्र २९ गते रोल्पा लिवाङमा संयुक्त जनआन्दोलन नेपालद्धारा विशाल आमसभाको आयोजना गरिएको छ ।