Magar National Liberation Front Nepal, Belgium committee

September 11th 2009

काठमाडौ, २६

एकिकृत नेकपा माओवादीका अध्यक्ष्ा प्रचण्डले आफनो आन्दोलनलाई दलहरुले हल्का ढङ्गले लिई दमन गर्ने नीति अख्तियार गरे नेपालमा फेरी अर्को युद्ध हुने चेतावनी दिनु भएको छ । शुक्रवार संयुक्त राष्ट्रिय जनआन्दोलन नेपालद्धारा राजधानीमा आयोजित विशाल जनसभामा वोल्दै प्रचण्डले अहिले चलिरहेको आन्दोलन तेस्रो जनआन्दोलनको रिहर्सल मात्र भएको भन्दै सत्तारुढ दलहरुको घैटोमा घाम नलागे तेस्रो जनआन्दोलनको आँधी हुरीले प्रतिगामी सवैलाई खरानी वनाउने चेतावनी दिनु भयो । ‘हिजो यही खुलामंचवाट ४० बुँदे मागहरु राख्दा अटेर गर्नेहरु जनयुद्धको भुमरीमा परे, अव पनि फेरी आफना ४५ बुँदे मागहरुलाई वेवास्ता गरे अर्को युद्ध हुने छ ।’ सभालाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नु भयो - ‘यही खुल्लामंचवाट जनयुद्धको घोषणा गर्दा गुलेली चलाउन नजान्नेले कसरी जनयुद्ध गर्छन भन्थे, अव हाम्रा मागहरुलाई वेवास्ता गरे सवैखाले प्रतिक्रियावादी, प्रतिगामीहरु विद्रोहको डढेलोमा खरानीमा हुने छन ।’

००७ साल देखि नेपालमा कुनै न कुनै तरीकावाट सैनिक सर्वोच्चता कायम हुदै आएको प्रसंग कोट्याउदै माओवादी अध्यक्ष प्रचण्डले ईतिहासमा आफुले पहिलो चोटी जनताको सर्वोच्चताको निम्ति प्रधानमन्त्री जस्तो पदवाट राजिनामा दिएको स्पष्ट पार्नु भयो । सैनिक सर्वोच्चता कायम गर्न राष्ट्रपतिले मध्यरातमा चोर वाटोवाट तत्कालीन प्रधानसेनापति कटुवाललाई पुर्नस्थापित गरेको भन्दै प्रचण्डले राष्ट्रपतिलाई ज्ञानेन्द्र जस्तै राजा नवन्न आग्रह गर्नु भयो । जनताको छोरा वन्न राष्ट्रपतिलाई आग्रह गर्दै प्रचण्डले भन्नु भयो - ‘म राष्ट्रपतिलाई सुझाव दिन्छु, तपाई जनताको छोरा वन्नु होस’ वहाँको थप सुझाव थियो -’१८ दलका नाममा तपाईलाई राजा वनाउन खोजिदैछ तर राजा हुने धृष्टता नगर्नुहोला ।’ जनता र संविधानले राष्ट्रपतिलाई सम्मानित संस्था वनाए पनि १८ दलले राजा वनाएईको प्रचण्डको आरोप थियो ।

गणतन्त्र, संविधानसभा जनयुद्धको बलवाट आएको चर्चा गर्दै माओवादी अध्यक्ष प्रचण्डले संविधानसभा, गणतन्त्र आफुहरुको एजेण्डा भएकोले संविधान वनाउने र शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउने जिम्मेवारी माओवादीले नै पाउनु पर्ने दावी गर्नु भयो । निर्वाचनमा हारेकाहरुले सरकार चलाउनु लोकतन्त्रको उपहास भएको र मुलुकमा हरुवाहरुले नाटक प्रर्दशन गरेको प्रचण्डको भनाई थियो । चुनाववाट पराजित र वहिष्कृत शक्तिले संविधान वनाउनै नसक्ने प्रचण्डले जिकिर गर्नु भयो । कार्यक्रममा पार्टी स्थायी समिति सदस्य तथा संयुक्त जनआन्दोलन समितिका उपाध्यक्ष अमिक शेरचनले शिशु गणतन्त्र संकटमा परि रहेको वताउदै जनताको गणतन्त्रको निम्ति आफु जस्तो सुकै वलिदान गर्न तयार रहेको भनाई राख्नु भयो । नागरिक सर्वोच्चता कायम गर्न र राष्ट्रपतिको असंवैधानिक कदमको विरुद्ध माओवादी यतिवेला देशव्यापी विरोधसभामा उत्रेको छ । सो विरोध सभा शुक्रवार देशका विभिन्न ठाउँमा सम्पन्न भएका छन ।